युएईलाई सहजै हराउँदै नेपाल पुग्यो एसिया कपमा



काठमाडौँ । नेपाल एशिया कपमा छनौट भएको छ । टियु क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा नेपालले युएईलाई ७ विकेटले पराजित गर्दै एसीसी प्रिमियर कपको उपाधि जितेर एशिया कपमा छनौट भएको हो ।

युएईले दिएको ११८ रनको सामान्य लक्ष्यलाई नेपालले ३०.३ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ६७ रन बनाए भने भीम सार्कीले ३६ रन बनाएका थिए । त्यसअघि नेपालले लगातार तीन विकेट गुमाउँदा नेपाल दबाबमा आएको बेला गुलशन झा र भीम सार्कीले शानदार अविजित ९६ रनको साझेदारी गरेका हुन् ।

२२ रन बनाएर २ विकेट गुमाएको अवस्थाबाट गुलशन र भिमले धैर्यतापूर्ण ब्याटिङ गर्दै नेपाललाई जित दिलाएका थिए । त्यसअघि नेपालका कप्तान रोहित पौडेल १ रन बनाएर आउट भए भने कुशल भुर्तेल १ र आसिफ शेख ८ रन बनाएर आउट भएका थिए । युएईका बलर रोहन मुस्तफाले दुई विकेट लिए भने आयान अफजल खानले एक विकेट लिएका छन् ।

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको युएई ३३.१ ओभरमा ११७ रन बनाएर अल आउट भएको थियो । सोमबार वर्षाले खेल रोकिएपछि आज सुरु भएको खेलमा युएईले केवल ११ रन जोडेर आफ्नो अन्तिम विकेट गुमाएको थियो ।

युएईका ब्याट्सम्यान जुनैद सिद्दिकीले १०, आसिफ खान ४६, जाहूर खान ०, आयान खान ५, बसिल हामिद १०, रोहन मुस्तफा २, रमिज शाहजादले १, आर्यन लाक्रा १३, वृत्य अरविन्द ८ र कप्तान मोहमद वासिम ११ रन बनाएर आउट भएका थिए । नेपालका लागि ललित राजबंशीले सर्वाधिक ४ विकेट लिएका छन् । ललितले ७.१ ओभरमा २ मेडनसहित १४ रन दिटर ४ विकेट लिए । करण केसी र सन्दीप लामिछानेले २-२ विकेट लिए भने सोमपाल कामी र गुलशन झाले एल एक विकेट लिएका थिए ।

विजेता नेपालले एसिया कपमा भारत र पाकिस्तानसँगको भेट पक्का गरेको छ । नेपाल सन् २००२ पछि पहिलो पटक एसिया कपमा स्थान बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्