तानसेन । राष्ट्रिय पुरुषवीच भलिबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशले विजयी सुरुआत गरेका छन् । पाल्पाको रानीमहलमा बिहीबार सुरु भएको प्रतियोगितामा आर्मीले लुम्बिनी र गण्डकीले आयोजक पाल्पा र बागमतीलाई २–० को सोझो सेटमा हराएका हुन् ।
आर्मीले लुम्बिनीलाई २१–१५ र २१–११ को सेटमा पराजित गर्यो भने गण्डकीले आयोजकमाथि २१–११ र २१–१५ को सेटमा जित निकाल्यो । समूह चरणको अर्को खेलमा गण्डकीले लुम्बिनीलाई २१–१६ र २१–१५ को सेटमा हरायो ।समूह चरणको दुई खेलमा जित निकाल्दै गण्डकी क्वार्टरफाइनल प्रवेश गर्यो । अर्को खेलमा लुम्बिनी विजयी बन्यो । सुदूरपश्चिम प्रदेश समयमै कोर्टमा नपुगेपछि लुम्बिनी विजेता बनेको हो ।
प्रतियोगिताको बिहीबार तानसेन नगरपालिकाका प्रमुख सन्तोषलाल श्रेष्ठले उद्घाटन गरेका थिए । उनले रानीमहललाई वीच भलिबलको हब बनाउने लिखित प्रतिबद्धता समेत जनाएका थिए ।
सञ्जय मेमोरियल फाउन्डेसनको आयोजनमा सुरु प्रतियोगिता आगामी शनिबारसम्म चल्नेछ । प्रतियोगितामा ६ प्रदेश, तीन विभागीय क्लब र आयोजक गरि १० टिम सहभागी छन् । प्रतियोगिताको विजेता टिमले १ लख ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल प्राप्त गर्नेछ । उपविजेता टिमले १ लाख रुपैयाँ सहित ट्रफी, मेडल, तेस्रो हुने टिमले ५० हजार रुपैयाँ सहित ट्रफी, मेडल र सानत्वना हुने टिमले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ट्रफी सहित १० हजार रुपैयाँ प्राप्त गर्ने फाउन्डेसनकी अध्यक्ष निरोज मास्केले बताएकी छिन् ।