बैतडी । बैतडीको तल्लोस्वराड क्षेत्रको ‘रेफरल सेन्टर’को रुपमा रहेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा एक्स-रे सेवा बन्द गरिएको छ । जनशक्ति अभाव रहेकोले एक्स-रे सेवा बन्द गर्नुपरेको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अधिकृत सञ्जीन केसीले जानकारी दिए ।
एक्स–रे सेवा बन्द गरिएकोबारे मेलौली नगरपालिकालाई जानकारी गराइसकिएको उनले बताए । यसअघि एक्स-रे मेसिन पारामेडिक्सले सञ्चालन गरेको भए पनि पारामेडिक्सलाई यो सम्बन्धी पूर्ण ज्ञान नहुँदा एक्स-रे सेवा बन्द गर्नुपरेको हो ।
उनले भने, “पहिले प्यारामेडिक्सले जसोतसो एक्स(रे सेवा दिइरहेका थियौँ । तर एक्स-रे मेसिनसम्बन्धी उहाँहरुलाई पूर्ण ज्ञान छैन । यो सम्बन्धी ज्ञान नहुँदा यसले झन् स्वास्थ्यलाई हानी पुर्याउँछ । यसैले दक्ष जनशक्ति पदपूर्ति नहुँदासम्म सोमबारदेखि सेवा बन्द गर्न बाध्य भएका हौँ ।’’
स्वास्थ्यको दृष्टिकोणले दक्ष जनशक्ति बिना एक्स-रे सेवा असुरक्षित रहेको र स्वास्थ्यलाई हानी गर्ने उनले बताए । उनले भने,“एक्स-रे मेसिनसम्बन्धी ज्ञान नभई सेवा दिँदा बिरामीलाई झन् खतरा हुनजान्छ, एक्स-रे मेसिन सञ्चालनका लागि रेडियो ग्राफर चाहिन्छ,रेडियो ग्राफरको पदपूर्ति नहुँदासम्म सेवा बन्द रहन्छ ।”
स्वास्थ्य केन्द्रमा जनशक्ति नहुँदा एक्स-रे सेवा बन्द भएकोबारे स्वास्थ्य संस्था हेर्ने जिम्मा पाएको मेलौली नगरपालिका जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको आरोप लागेको छ । जनशक्ति पदपूर्तिका लागि नगरपालिकालाई पटक–पटक आग्रह गर्दा पनि स्वास्थ्य जस्तो संवेदनशील ठाउँलाई कुनै चासो नदिएको डा केसीको भनाइ छ ।
मेलौली नगरपालिकाका स्वास्थ्य शाखा संयोजक नारायण चन्दले भने नयाँ आर्थिक वर्षको बजेटमा जनशक्ति थप्ने तयारी भएको बताए । उनले भने,“एक्स-रे सेवा बन्द रहेकोबारे जानकारी प्राप्त भएको छ । तत्काल केही गर्न सकिने अवस्था देखिदैन्, नयाँ आवमा जनशक्ति थपेर स्वास्थ्य सेवालाई सहज बनाउँछौँ ।”
एक्स(रे मेसिन बन्द हुँदा चोटपटक लागेका बिरामीलाई अन्यत्र जान बाध्य भएका छन् । केशरपुर प्राथमिक स्वास्थ्य केन्द्र स्वास्थ्य बीमा कार्यक्रमको समेत सूचीकृत स्वास्थ्य संस्था भएकाले बीमा गरेका नागरिकलाई समेत समस्या हुने गरेको छ ।
स्वास्थ्य केन्द्रमा दैनिक ५र६ एक्स-रे गर्नका लागि आउने गरेका भए पनि बिरामी सदरमुकाम, पाटन, डडेल्धुरा जान बाध्य भएका छन् ।