खेती प्रविधिको विकास व्यवस्थित बनाउनु अत्यावश्यक : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु अनुकूलित धानका जात र खेती प्रविधिको विकास र कृषकस्तरमा प्रविधि हस्तान्तरणलाई अझ बढी व्यवस्थित बनाउनुको साथै यसको गति बढाउनु अत्यावश्यक रहेको बताएका छन् ।

२०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८० को अवसरमा एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री दाहालले पछिल्लो समय जलवायु परिवर्तनका कारण सुक्खा खडेरी, अतिवृष्टि, असमयको वर्षा, बाढी पहिरो, रोग तथा किराको प्रकोप आदिको क्रम बढ्दै जाँदा धान उत्पादनमा नकारात्मक असर बढ्दै गएको बताएका छन् ।

रोपाइँ महोत्सवको अवसरमा सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै उनले नागरिकको खाद्य तथा पोषण सुरक्षाको प्रत्याभूत गर्नु लोक कल्याणकारी राज्यको प्रमुख जिम्मेवारी भएको उल्लेख गरेका छन् ।

नेपालको संविधान २०७२ ले खाद्यसम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरेको र उक्त हकको कार्यान्वयन गर्न खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५ समेत जारी भएको प्रधानमन्त्रीले स्मरण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्