काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् ।
आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा उनले कम्युनिस्टबीचको एकताले कांग्रेस तरंगित हुनु नपर्ने बताएका हुन् ।
उनले वाम एकताका कारण काङ्ग्रेससँगको सम्बन्धमा कुनै दरार नआउने समेत बताए ।
कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उनले काङ्ग्रेससँगै मिलेर राजनीतिक उपलब्धिको रक्षा गरिने बताए ।
प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन प्रस्ताव नगरेकोमा पश्चाताप भइरहेको उल्लेख गरे ।