हाप्किडोको राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धि तथा आत्मरक्षा तालिम हुने



काठमाडौं । नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषदको सहकार्यमा राष्ट्रपति खेलकुद, महिला सहभागिता अभिबृद्धी तथा आत्मरक्षा तालिम सञ्चालन हुने भएको छ ।

यही बुधबार काठमाण्डौ जिल्लाको शंखरापुर नगरपालिका–०३ जहरसिङ पौवा स्थित श्री कालिका शरण माध्यामिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने तय भएको यस तालिममा खेलाडी तथा विधार्थी सहभागी हुने आयोजकले जनाएको छ । तालिममा महिला सहभागीतालाई प्राथमिकता राखिएको छ ।

राष्ट्रपति खेलकुद अन्तर्गत अयोजना गर्न लागिएको यस तालिमका सहभागीहरुले महिला क्षमता अभिबृद्धि तथा आत्मरक्षा सम्बन्धि कौशल सिक्ने कार्यक्रमका संयोजक बिजयाकुमारी वाईवाले जानकारी दिए । ‘तालिममा हाप्किडोका अनुभवी महिला प्रशिक्षकहरु सहभागी हुने छन् ।

अनुभवी प्रशिक्षकहरुबाट सहभागी खेलाडीहरुले आत्मा रक्षा सम्बन्धि कौशल सिक्ने छन् । यसमा राष्ट्रपति खेलकुद अन्तर्गत महिला सहभागीता अभिबृद्धिको नारा जोडिएकाले महिला सहभागीतालाई जोड दिएका छौं । समग्रमा यस तालिमबाट धेरैभन्दा धेरै महिला खेलाडी तथा बिद्यार्थीहरुले आत्मरक्षा सम्बन्धि ज्ञान हासिल गर्ने छन् ।’

संघले कार्यक्रमको संयोजकको जिम्मेवारी समेत महिलालाई नै दिएको छ । विजयाकुमारी वाइबाले कार्यक्रम संयोजन गर्ने छिन् । मार्शल आर्ट्स विधाको हाप्किडो खेल आत्मरक्षा कौशल सँग सम्बन्धित खेल विधा हो । यसका विभिन्न विधामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता तथा सेमिनारहरु आयोजना हुँदै आइरहेका छन् । तुलनात्मक रुपमा नेपालमा नयाँ खेल भए पनि नेपालमा हाप्किडो खेलले देशैभर राम्रो सञ्जाल बनाएको छ ।

देशभित्र स्थापनाको एक दशक पनि नपुग्दै ५० हजारको हाराहारीमा देशको युवाहरुलाई यस खेलमा सक्रिय बनाउन सफल भएको हाप्किडोको ६० जिल्लाहरुमा विधिवत रुपमा जिल्ला संघहरु स्थापना भइसकेको छ । प्रायः जिल्ला र देशैभरका धेरै विद्यालयहरुमा यस खेलको नियमित प्रशिक्षण हुँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्