काठमाडौं । यो २०५४ सालको कुरा हो म ८ कक्षामा पढथे । म त्यो बेला शारदा मावि थुम्बेदिनको अनेरास्वबियुको प्राक को सचिब थिए । सानै उमेरमा राजनिती प्रति भोग थियो । प्यास थियो । त्यतिखेरको अखिल साच्चिकै मजबुत थियो । दाजु तेह्रथुम क्याम्पस चुहानडाँडा पढ्नुहुन्थ्यो । त्यतिखेरको समय खासै कोहि पनि विद्यार्थीको खुट्टामा जुत्ता हुँदैन थियो । हाती छाप चप्पलको चलन थियो । नियमित जस्तो अखिलका कार्यक्रम मिटिङ हुन्थ्यो । त्यही क्रममा अनेरास्ववियुको ताप्लेजुङ क्षेत्र नं. १ को सम्मेलन तेल्लोक माविमा राखिएको थियो । हाम्रो थुम्बेदिनदेखि तेल्लोक पुग्न पाँच घन्टा लाग्थ्यो । पुसको कठ्याङ्ग्रिदो जाडोमा सम्मेलन भएको र तेल्लोकमा अत्याधिक जाडो थियो थुम्बेदिनबाट ६ जना प्रतिनिधिको रुपमा जाने निर्णय प्राकले गर्याे । जसमा प्रकाश थेबे मोहन रिजाल इन्दिरा नेपाल बेदमाया रिजाल निर्मला न्यौपाने र म थिए ।
म सँग लगाउने जुत्ता थिएन । चप्पल मात्र लगाएर जादा चिसोले गाह्रो हुन्थ्यो । मैले विभिन्न जुक्ती निकाले । सम्मेलनमा जान र राजनीति बुझ्न भुत चढने मेरो लागि । अब दाजुको जुता चोरेर लाएर जानुको बिकल्प थिएन । त्यतिखेर सायद दाजुको खुट्टाको पनि पहिलो जुत्ता त्यही थियो । जुन जुत्ता दाइले क्याम्पस पढ्न जादा मात्र लगाउन पाउनु भएको थियो । गोलस्टार जुत्ता थियो । त्यो मेरो खुट्टामा निकै ठूलो हुन्थ्यो । तर पनि सबै उपाय सोचियो । दाइकै जुत्ता लगाइयो । अनि अखिलको सम्मेलनमा हिडियो । जुत्ता र खुट्टाको तालमेल मिल्ने कुरा नै थिएन । हिड्दाहिड्दै धेरै पटक खुट्टाबाट जुत्ता खुस्किन्यो । लाज पनि लागिरहेको थियो ।
पाँच घन्टा हिडेर तेल्लोक कार्यक्रम स्थलमा पुगियो । त्यतिखेरको अखिलको सम्मेलन अहिलेको जस्तो कहाँ हुन्थ्यो । दिउँसो उद्घाटन र बेलुका बन्द सत्र साँस्कृतिक कार्यक्रम हुन्थ्यो । त्यतिखेरको अखिलको कार्यकर्ता हुनु गौरबको बिषय थियो । त्यसमा पनि दिल्ली प्रसाईं र तिल कुमार मेनेङ्बोको भाषण ताप्लेजुङको कुनाकन्दरा तिर गाउँबस्ती तिर धेरै लोकप्रिय थियो ।
त्यो भाषणवाज दिल्ली प्रसाईको एक बर्ष अगाडि निधन भै सकेको छ । तिल कुमार अंकल अहिले एमालेको पोलिटब्युरो सदस्य एवम् प्रदेश सांसद हुनुहुन्छ । दिल्ली प्रसाइले मलाई राजनितिमा धेरै सिकाउनुभयो ।
बेलुकाको खाना त्यहाँका गाविस अध्यक्ष आप्रथम थेबेको घरमा व्यवस्था थियो । खाना नपाकेर काँचो खाना र सागसँग खाना खाइयो । २६ बर्ष अगाडिको त्यो काचो खानाको याद अहिलेसम्म आउँछ । सायद गोपाल घिमिरे, सन्तोष चाम्लिङ राजेश प्याकुरेल, शान्ता आङ्बुवाङ ताप्लेजुङ अखिलको अगुवा हुनुहुन्थ्यो ।
रातभरी बन्द सत्र भयो । राजेश प्याकुरेलको अध्यक्षतामा १ नम्बर क्षेत्रको कमिटी घोषणा गरियो । त्यसमा मलाई सदस्य निर्वाचित गर्याे । भोलिपल्ट पहिलो कमिटिको मिटिङ हुने भएकोले म चाहिँ तेल्लोकमै बसे । मसँग गएका अन्य पाँच जना साथिहरु फर्किए । मिटिङ भयो । अखिललाई सशक्त पार्ने निणय भयो । म घर फर्कनेमा एक्लै थिए । मलाई दाजुको जुत्ताको डर थियो ।
भोलिपल्ट घर फर्कदा दाजुको कराइले आजित भए । यसरी राजनिती मोह भएको मेरो लागि आज भोलिको सुन्ड–मुसुन्डहरुको राजनिती देख्दा लाज लाग्छ । यहाँ इतिहासको पृष्ठभूमीको आधारमा राजनीति हुँदैन । चाकडी चाप्लुसी नातावादी राजनीती हुन्छ । अहिलेको कुनैपनि पार्टीको राजनीति देख्दा घिन लागेर आउँछ । इतिहासको गौरवलाई मज्जाकमा उडाईएको छ ।