व्यवस्थापिकालाई आवश्यक पर्ने बजेट उपलब्ध गराउनु सरकारको दायित्व : सभामुख घिमिरे



काठमाडौँ । संघीय संसद् तथा प्रदेश सभाका सभामुख र उपसभामुखबीचको सम्मेलनले राजनीतिक फेरबदलका कारण प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

संघीय संसद् सचिवालयले आयोजना गरेको सम्मेलनका निष्कर्ष सार्वजनिक गर्न आइतबार संसद् भवन नयाँ बानेश्वरमा आयोजित पत्रकार सम्मेलनमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संघीय शासन प्रणालीमा संघ र प्रदेश स्वतन्त्र रहने भएकाले राजनीतिक फेरबदलका कारण प्रदेशसभा प्रभावित हुने कुरालाई निरुत्साहित गर्दै केन्द्रिय प्रभावबाट मुक्त हुने वातावरणको लागि पहल गर्ने निष्कर्ष निकालेको जानकारी दिए

उनले कोशी प्रदेशसभाको विषयमा पनि सम्मेलनमा छलफल भएको अदालतलाई प्रभाव पार्ने गरि कुनै निष्कर्ष ननिकालेको जिकिर गरे । सभामुख घिमिरेले व्यवस्थापिकालाई आवश्यक पर्ने बजेट उपलब्ध गराउनु सरकारको दायित्व भएकाले आर्थिक स्वायत्तताको प्रत्याभूति गर्न र कुनैपनि कारणबाट बजेटको अभाव हुन नदिने गरी व्यवस्थापन गर्न सरकारलाई ध्यानाकर्षण गराउने जिकिर गरे ।

उनले अहिलेको मर्यादाक्रममा केही प्रश्न उठेको अवस्थामा सरकारले मर्यादाक्रम तोक्दा तलमाथि गर्ने काम हुने गरेकाले यसमा पनि बैज्ञानिक तवरले छलफल गर्नुपर्नेमा सम्मेलनले जोड दिएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्