एमालेले कुनै भागबन्डा मागेको छैन : योगेश भट्टराई



काठमाडौँ । सांसद एवं प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव योगेश भट्टराईले संसदीय समितिको पूर्णताको माग गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको आजको बैठकमा एमाले सचिव भट्टराईले संसदीय समितिले पूर्णता नपाएसम्म एमाले समितिका आगामी बैठकमा सहभागी नहुने स्पष्ट पारे ।

संसदीय प्रक्रियाअनुसार संसद् र समितिहरु चल्न नसकेको भन्दै उनले गठबन्धनका कारण समितिहरुले पूर्णता पाउन नसकेको दाबी गरे ।

“सत्तारुढ गठबन्धनका कारण सिर्जना भएको समस्याको भारी प्रतिपक्षले बोक्न चाहन्न”, उनले भने, “संसदीय प्रक्रियाअनुसार समितिले पूर्णता नपाए सम्भवत हामी समितिका यसपछिका कुनै पनि बैठकमा उपस्थित हुँदैनौँ । सभापतिलाई यसबारे अग्रिम जानकारी गराउन चाहन्छौँ ।” संसद् प्रभावकारी रुपमा चल्न नसक्दा मुलुकको राष्ट्रिय एकताको प्रतीक संसद् र संविधान बन्न नसकेको उनले जिकिर गरे ।

“प्रतिपक्षी दल एमालेले कुनै भागबन्डा मागेको छैन । यद्यपि लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने अभ्यास छ । गठबन्धनले यो पनि दिन चाहँदैन भने हामीलाई चाहिँदैन । तर संसदीय प्रक्रिया पूरा गरेर अघि बढ्नुपर्छ”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्