काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू विभिन्न पदमा रहँदा कानूनबमोजिम नै काम गर्ने गरेको बताएका छन् ।
नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनको भक्तपुर जिल्ला भेलालाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले आफू प्रधानमन्त्री, परराष्ट्रमन्त्री वा गृहमन्त्री हुँदा गरेका काम कारवाहीहरु कानूनबमोजिम नै भएको भन्दै आफूलाई हतकडी लगाउने कुनै ठाउँ नभएको बताएका हुन् ।
विरोधीहरुले सत्यका विरुद्धमा काम गर्छन् भन्ने आफूहरुलाई थाहा भएको र कानूनी रुपमा पनि कतै एक शब्द गल्ती नहोस् भनेर आफू सतर्क रहेको धारणा राखे । अध्यक्ष ओलीले अहिलेका विभिन्न प्रकरणहरुलाई ढाकछोप गर्न झापाको गिरीबन्धु टी स्टेटको जग्गाका विषयलाई उचालेको आरोप लगाए ।
उनले सुन तस्करी प्रकरणको तत्काल छानबिनका लागि सरकार डराएका कारण एक महिनापछि मात्रै छानबिन गर्नेगरी उच्चस्तरीय आयोग गठनमा सहमति भएको जिकिर गरे ।