काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको छ । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हराएको हो । मलेसियासँगको जितसँगै नेपालको सेमिफाइनल सम्भावना मजबुत बनेको छ ।
मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनाएको थियो । ८५ रनको विजयी लक्ष्य पछ्याएको मलेसिया ७९ रनमा समेटियो ।
यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक–एक विकेट लिए ।
मलेसियाले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् ।
नेपालकी कविता कुँवर र कविता जोशीले दुई–दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक–एक विकेट लिए ।