भारोत्तोलन टोलीको बिदाइ



रियादमा हुने आईडब्लुएफ विश्व च्याम्पियनसिपमा हुने नेपाली भारोत्तोलन टोलीलाई आइतबार नेपाल ओलम्पिक कमिटी (एनओसी) मा बिदाइ गरिएको छ । एनओसीका महासचिव नीलेन्द्रराज श्रेष्ठले टोलीलाई बिदाइ गरे ।

नेपालले विश्व भारोत्तोलन च्याम्पियनसिपमा १६ वर्षपछि सहभागिता जनाउन लागेको हो । भदौ १७ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा ३ पुरुष र २ महिला गरी ५ खेलाडी सहभागी हुँदै छन् ।

पुरुष ८१ केजीमा विकास भट्ट, ९६ केजीमा विशालसिंह विष्ट र १०९ केजीमा सागर भण्डारीले प्रतिस्पर्धा गर्ने छन् । महिला ५५ केजीमा टीकामाया गुरुङ तथा ६४ केजीमा शारदा चौधरीले खेल्ने छन् ।

प्रशिक्षकमा जीवन गौतम, निर्णायकमा पार्थ सारथी सेन गुप्त र व्यवस्थापकमा रामसुन्दर श्रेष्ठ रहेका छन् । गुप्त शुक्रबारै रियाद प्रस्थान गरिसकेका छन् । नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ (बोस) पनि प्रतियोगिता दौरान हुने विश्व भारोत्तोलन महासंघको कोंग्रेसमा सहभागी हुन रियाड जाने छन् ।

व्यवस्थापक श्रेष्ठ, प्रशिक्षक गौतम, खेलाडी शारदा र टीकामाया सेप्टेम्बर ४ रियाद जाँदै छन् । सेप्टेम्बर ८ मा विशाल र विकास रियाड उड्ने छन् । अध्यक्ष श्रेष्ठ र खेलाडी सागर सेप्टेम्बर ११ मा रियाद प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्