एनएनआईपीएमा श्रेष्ठको निरन्तरता



दक्षिण एसियाली खेलकुदको करातेका दोहोरो स्वर्ण विजेता दीपक श्रेष्ठलाई निरन्तरता दिदै नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) को साधारण सभा तथा निर्वाचनले २ वर्षका लागि १५ सदस्यीय केन्द्रीय कार्यसमिति मंगलबार निर्विरोध चयन गरेको छ ।

उपाध्यक्षमा आयशा शाक्या (तेक्वान्दो) र दीपक थापा (ब्याडमिन्टन), महासचिवमा शिवसुन्दर गोथे (टेबलटेनिस), सचिवमा मन्देकाजी श्रेष्ठ (कराते) र कोषाध्यक्षमा आङबाबु लामा (उसु) रहेका छन् । पदाधिकारीमा दीपक बाहेक अघिल्लो कार्यसमितिमा सबै अहिलेकै जिम्मेवारीमा थिए । अघिल्लो कार्यसमितिमा दीपक सदस्य थिए ।

बास्केटबलका सदीश प्रधान, फुटबलका विकेश कुथु, उसुकी जुनी राई, बक्सिङका अजित गुरुङ, फेन्सिङका सन्जिव लामा, टेबलटेनिसका पुरुषोत्तम वज्राचार्य, सुटिङकी फुलमाया क्याप्छाकी, भलिबलका मानबहादुर श्रेष्ठ र जुडोका सन्जित डंगोल सदस्यमा चयन भए । अब १ उपाध्यक्ष र ३ सदस्यको मनोनयनपछि केन्द्रीय कार्यसमितिले पूर्णता पाउने छ ।

नवनिर्वाचित पदाधिकारीलाई नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाएका पूर्व धावक जितबहादुर केसीले खादा लगाइ दिनुका साथै सफल कार्यकालका लागि शुभकामना दिए । त्यसअघि साधारण सभाको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्