वैदेशिक प्रशिक्षणका लागि रग्बी टोली मलेसिया प्रस्थान



चीनको हाङझावमा हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष रग्बी टोली थप तयारीका लागि मंगलबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ । १२ खेलाडी, २ प्रशिक्षक र १ व्यवस्थापक गरी १५ सदस्यीय टोली मलेसिया प्रस्थान गरेको हो ।

विराट श्रेष्ठको कप्तानीमा रहेको नेपाली टोलीका अन्य सदस्यमा श्रीराम श्रेष्ठ, विक्रम पुरी, निरोज कार्की, विवेश बासु, यदु अधिकारी, झुकेन्द्र राई, विशाल बडु, सविन महत, नवीन महर्जन, पुजन फेवाली र सुमन चौलागाईं रहेका छन् ।

प्रशिक्षकमा श्रीलंकाका विजेलथ सिन र टंकराज गिरी तथा व्यवस्थापकमा नेपाल रग्बी संघका महासचिव गोविन्द घिमिरे छन् । १६ दिनको प्रशिक्षणपछि नेपाली टोली स्वदेश फर्किएर चीन जाने छ । एसियाली खेलकुदमा नेपालले पहिलोपटक रग्बीमा सहभागिता जनाउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्