प्रतिनिधिसभा बैठक : कानुन विपरीत संरचना बनाउनेलाई कारबाही गर्न माग



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले संस्कृति र परम्परा झल्कने गरी व्यवस्थित सहरी बस्ती विकास गर्न आग्रह गर्दै विद्यमान कानुन र नीतिविपरीत संरचना बनाउनेलाई कारबाही गर्न माग गरेका छन् ।

उनले सरकारी आयोजना र निकायले नै मापदण्डलाई पालना नगरी नदी कटानसमेत गरी संरचना निर्माण गरिँदा कारवाही नहुने तर सर्वसाधारण जनताले कमजोरी गरेमा डोजर लगाएर भत्काइने शैली उचित नभएको बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाहीले गणतन्त्र आएपछि एउटा पनि सरकारी अस्पताल नबनेकाले स्वास्थ्य सेवा सहज नभएको टिप्पणी गरे । जनता समाजवादी पार्टीका रञ्जुकुमारी झाले नेपालका लागि चीनका राजदूतले नेपाल र भारतबीचको सम्बन्धका बारेमा आफूखुसी वक्तव्य दिइनु नेपाली स्वाभिमानमाथिको प्रहार भएको बताइन्।

प्रतिक्रिया दिनुहोस्