सिन्धुपाल्चोक । मित्रराष्ट्र चीनको सीमानामा पर्ने भोटेकोसी गाउँपालिका व्यापारिकमात्रै होइन राजनीतिक र सामरिक महत्वका हिसाबले पनि चर्चित ठाउँ हो । ४ नं वडा फुल्पिङ्कट्टीको नारायणथान निवासी उर्जाशील युवा आङ्छिरी शेर्पा नेकपा (एमाले) भित्र उदयीमान नेता हुन् । उनको नेतृत्व गर्ने क्षमता, संगठन गर्ने मिहीन तरिका र वैचारिक रुपमा नरम र मीठो बोल्ने शैलीका कारण उनको उदय एमालेका लागि शानदार भविष्य बन्ने देखिन्छ ।
हाल उनले आफ्नै घर आँगनमा रहेको श्री झिर्पु माध्यमिक विद्यालयको अध्यक्ष चलाइरहेका छन् । अध्यक्ष भएको वर्ष दिनमै विद्यालयलाई जिल्लाको नमूना बनाउन सफल भए । सभामुख देवराज घिमिरेले हालै सम्पन्न वार्षिकोत्सवमा सम्बोधन गर्दै विद्यालयको भविष्य उज्यालो बनाएकोमा शेर्पालाई धन्यवाद दिएका छन् । जहाँ आङ्छिरी पुग्छन् त्यहाँ नयाँपन र प्रगतिशील पाइला अघि बढ्छ । आज शेर्पाले भोटेकोसी मात्रै होइन बागमती प्रदेशभित्रै आफ्नो स्पष्ट दृष्टिकोण, कार्यक्षमता र संगठन विस्तार गर्ने शैलीलाई राजनीतिक छापको
रुपमा प्रकटीकरण गरिदिएका छन् । शेर्पा बढी संस्थागत हितका लागि समय खर्चन्छन् । अरु पार्टीका नेता–कार्यकर्तासँग स्पष्ट भएर वैचारिक बहस गर्न रुचाउँछन् । छोटो समयमै गतिलो नतिजा निकाल्ने क्षमता भएकोले एमालेभित्र उनलाई आशा गरिएको युवा नेतामा हेरिएको छ । ४० वर्षमुनिका युवा, अल्पसंख्यक जनजाति कोटा, नेतृत्व गर्ने नयाँ कार्यशैलीका कारण उनको सम्भावना राम्रो रहेको एमाले नेताहरुले सार्वजनिक गर्दै आएका छन् ।
यही असोज ८ र ९ गते नेकपा (एमाले) बागमती प्रदेशको प्रथम अधिवेशन हुँदैछ । एकलाख भन्दा बढी संगठित सदस्यले छानेको ११ सय ५० प्रतिनिधिले प्रदेशको नेतृत्व छान्दैछन् । हालसम्म केन्द्रीय सदस्यद्वय मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेल, बागमती प्रदेशका वर्तमान अध्यक्ष केशव पाण्डे र वाग्मती प्रदेशका पूर्वसभामुख सानू श्रेष्ठ प्रतिनिधि निर्वाचित भइसकेकोले उनीहरुबीच नै भावी नेतृत्वको लागि प्रतिस्पर्धा हुने स्रोत बताउँछ ।
जनजाति त्यसमा पनि हिमालको पहिचान बोकेको शेर्पा समुदायबाट आएको उर्जावान् युवा आङ्छिरी भोटेकोसी गाउँपालिकाबाट अधिवेशनका लागि प्रतिनिधि छनोट भइसकेका छन् । उनको योजना प्रदेश सदस्यमा प्रतिस्पर्धा गर्ने रहेको पाइएको छ । ‘म ४० वर्षमुनिका आमयुवा नेतृत्वको प्रतिनिधित्व गर्दै अधिवेशनमा प्रतिस्पर्धा गर्न चाहन्छु’, शेर्पाले भने, ‘एमालेलाई युवा वर्गको ढुकढुकी बनाएर आमसमस्या समाधान गर्न पनि मेरो उम्मेदवारी रहन्छ ।’ राजनीतिमा सरल तर राष्ट्रियस्तरको छवि बनाएका शेर्पालाई एमालेमा ठूलो पंक्तिले विश्वास र भरोसा गर्छन् । दैनिक बिहान उठेदेखि बेलुका अबेरसम्म राजनीति र सामाजिक काममा बिताउने उनको कार्यशैलीले एमालेलाई नयाँ गति दिन मद्दत गर्ने निश्चित छ ।