पुरुष ब्याडमिन्टन टोली क्वार्टरफाइनलमा



हाङझाउ । नेपाल जारी १९औं एसियाली खेलकुदमा पुरुष टिम ब्याडमिन्टनको क्वार्टरफाइनलमा पुगेको छ ।

बिनजियाङ जिम्नाजियम कोर्टमा बिहीबार भएको अन्तिम १६ को खेलमा नेपालले मंगोलियालाई ३–१ ले हराउँदै क्वार्टरफाइनलमा पुगेको हो । नेपालका प्रिन्स दाहालले मंगोलियाका गेरेलसुख जार्गलसाइ खानलाई तथा सुनिल जोशीले खुबितुगुल्दर ब्यामभाजभलाई समान २–० को सेटमा हराए ।

प्रिन्सले २१–८, २१–१४ र सुनिल २१–११, २१–७ ले हराउँदै अग्रता बनाए । तर, विष्णु कटुवालले एकलमा नै सुमियासुरेन एनखबातसँग २–१ ले पराजित भएपछि मंगोलियाले पुनरागमन गरेको थियो ।

विष्णुले उक्त खेल २१–२३, २४–२२, १७–२१ ले गुमाए । यद्यपि, प्रिन्स दाहाल र विष्णु कटुवालको जोडीले जोल्जाया मुनखबातार र एनखबात ओलोनबायरको जोडीलाई २–० को सेटमा हराउँदै मंगोलियाको योजना सफल हुन दिएनन् । प्रिन्स र विष्णुको जोडीले मंगोलियाको जोडीलाई २१–८, २१–९ ले हराए । महिला टिम ब्याडमिन्टनमा भने माल्दिभ्ससँग ३–१ ले पराजित भएको छ । महिला एकलमा रसिला महर्जन माल्दिभ्सकी नभाह माथिमाथ रजाकसँग २४–२१, १९–२१ र २१–१३ ले पराजित भएपछि नेपाली महिला टोली सुरुमा नै पछि प¥यो ।

दोस्रो खेलमा नङ्सल तामाङ पनि नाबिहा अमिनाथसँग २१–१६ र २१–१० ले पराजि भएपछि माल्दिभ्स जित नजिक पुग्यो । महिला एकलको अर्को खेलमा अनुमाया राईले अफनान रसिदलाई २१–९ र २१–११ ले हराउँदै पुनरागमनको संकेत गरिन् । तर, महिला डबल्समा अनुमाया र रसिलाको जोडी माल्दिभ्सकी नभाह र नाबिहाको जोडीसँग २१–१६ र २१–१० ले पराजित भएपछि नेपाली महिला टोली हार बेहो¥यो ।

प्रतिक्रिया दिनुहोस्