भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशमा गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र निस्तेज पारिएको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाई आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एकसाथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले गठबन्धन सरकारको राम्रो काम देखेर गठबन्धनलाई कमजोर पार्ने र उल्ट्याउने षडयन्त्र भएको भन्दै कोशीमा उक्त षडयन्त्र निस्तेज पारिएको बताएका हुन् ।
उनले अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइँदैन की भनेर एकथरी विक्षिप्त भएको टिप्पणी गरे । कोशीमा गठबन्धनलाइ नै विभाजन गर्ने प्रयास निस्तेज पारिएकाले अब गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उनले बताए ।
वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । उनले मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।