विज्ञान र प्रविधिमा राज्यको ध्यान अझै केन्द्रित हुन सकेन : प्रधानमन्त्री प्रचण्ड



काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशलाई समुन्नत बनाउन, आर्थिक विकासका निम्ति उत्पादनसँग जोड्न र जनताको जीवनस्तर उकास्न नवप्रवर्तन एवं नवीनतम प्रविधिको महत्वपूर्ण भूमिका रहने बताएका छन् ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४६ औँ प्राज्ञ सभालाई आज सम्बोधन गर्दै उनले नवीनतम र उदीयमान प्रविधि विकासको अपरिहार्यतालाई आत्मसात गर्दै राष्ट्रको ध्यान यसतर्फ आकर्षित गर्नुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री दाहालले विज्ञान र प्रविधिमा भएका प्रवर्द्धनात्मक कार्यहरू प्रशंसनीय भए पनि राज्यको ध्यान विज्ञान र प्रविधिमा अझै केन्द्रित हुन नसकेको बताए । उनले ४० वर्षमा जम्माजम्मी ४ अर्बको बजेटबाट गरिएका विज्ञान, प्रविधि र प्रवर्द्धनात्मक कार्यहरू पर्याप्त नभए पनि प्रशंसनीय भएको बताए ।

उनले विज्ञान र प्रविधिको अनुसन्धानमा सक्रिय रहेर, अनुसन्धानकर्तालाई सहयोग र सहकार्य गरेर, विज्ञान र प्रविधिको विस्तारलाई प्रवर्द्धन गर्न नास्ट र यसका सहयात्री संस्थाहरूले गरेको योगदानप्रति धन्यवाद व्यक्त गरे । वर्तमान परिस्थितिमा सहकार्यको माध्यमबाट नै सफलताको सिँढी उक्लन सहज हुने प्रधानमन्त्रीको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्