स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने



नेपालमा पहिलो पटक विदेशी खेलाडी सम्मिलित स्ट्याग ग्लोबल टेबल टेनिस लिग च्याम्पियनसिप हुने भएको छ । नेपाल महिला च्याम्पियन नविता श्रेष्ठद्वारा सञ्चालित स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीको आयोजना र कन्सेप्ट मेकर्जको व्यवस्थापनमा मङ्सिर १९ देखि २३ गतेसम्म हुने प्रतियोगितामा नौ टोलीको सहभागिता रहनेछ ।

जसमा आयोजक स्ट्याग च्याम्पियन्स टेबल टेनिस एकेडेमीसहित एपीएफ, नेपाल पुलिस क्लब, नेपाली सेना, एभिएम टेबल टेनिस क्लब, कान्तिपुर भ्याली पिङपङ क्लब, नगाउँ स्पोर्ट्स क्लब, गडस्पिन टेबलटेनिस एकेडेमी र ज्ञानभैरव डिल्लीबजार टेबल टेनिस क्लब रहेका छन् ।

स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविताले यी नौमध्ये पाँच टिममा एक पुरुष र एक महिला विदेशी खेलाडी पनि समावेश हुने जानकारी दिनुभयो । सो प्रतियोगिताको विजेताले दुई लाख रुपियाँसहित रनिङ शिल्ड पाउनेछ । उपविजेताले एक लाख र तेस्रो हुने टोली (सेमिफाइनल) ले समान ५० हजार रुपियाँ पुरस्कार र ट्रफी पाउनेछन् ।

यसबिच आइतबार स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी प्रबन्ध निर्देशक नविता र सहप्रायोजक मेटल सेपरका प्रबन्ध निर्देशक निरज जोशीबिच प्रायोजन सम्झौता पनि भएको छ । प्रतियोगिताको प्रमुख प्रायोजक भारतको स्ट्याग ग्लोबल हो । जसले प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण खेल सामाग्री प्रदान गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्