टिकटक प्रतिबन्धविरुद्ध रिटको सुनुवाइ न्यायाधीश माथेमा र शर्माको संयुक्त इजलासमा



काठमाडौँ । सामाजिक सञ्जाल टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीशद्वय सुस्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा पेशी तोकिएको छ ।

यसअघि मंसिर ५ गते न्यायाधीश विनोद शर्माको इजलासले टिकटक बन्दको सन्दर्भमा सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।

अदालतको आदेश बमोजिम सरकारले लिखित जवाफ पेस गरेकाले आजबाट सो मुद्दामा नियमित सुनुवाइ हुन लागेको हो ।

गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद बैठकले समाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । टिकटकमाथिको प्रतिबन्धविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरू अनन्तराज लुँइटेल, सुनिलरञ्जन सिंह, भद्रप्रसाद नेपाल, अञ्जन धिताल, यज्ञमणि न्यौपानेलगायतले छुट्टाछुट्टै रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्