काठमाडौं । हेटौंडामा हुने प्रथम अन्तरप्रदेश उसु प्रतियोगिताका लागि बागमती प्रदेशबाट २० खेलाडी शनिबार छनोट भएका छन् । बागमती प्रदेश उसु संघले आयोजना गरेको छनोट प्रतियोगितबाट सान्सौंमा १३ तथा थाउलोमा ७ गरी २० खेलाडी छनोट भएका हुन् ।
सान्सौंको पुरुष ४८ केजीमा सिन्धुलीका मिलन राई,५२ केजीमा निश्चल तामाङ, ५६ केजीमा विशाल विष्ट र ६० केजीमा ज्ञानध्वज गोले, ६५ केजीमा काभ्रेका शंखध्वज वाइबा, ७० केजीमा सिन्धुपाल्चोकका राजेश रायमाझी, ७५ केजीमा धादिङका विशाल सुवेदी तथा ८० केजीमा ललितपुरका विदेश श्रेष्ठ छनोट भए ।
महिला ४८ केजीमा ललितपुरकी सरु सोती, ५६ केजीमा रामेछापकी मनीषा माझी, ६० केजीमा सिन्धुपाल्चोककी अनुष्का तामाङ, ६५ केजीकमा काठमाडौंकी आयुशा महर्जन र ७० केजीमा सिन्धुपाल्चोककी अम्बिका तामाङ छानिए ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा भएको प्रतियोगिताको थाउलोतर्फ पुरुष छाङ छ्वानमा विपन थापा, नान छ्वानमा निखिल लामिछाने, थाइची छ्वानमा विवेक मण्डल र ताउसु कुन्सुमा रविन्द्र आले मगर छनोट हुन सफल भए । चारै ललितपुरका हुन् । महिला छाङ छ्वानमा काठमाडौंकी अस्मिता श्रेष्ठ, नान छ्वानमा ललितपुरकी प्रेमकुमारी आले मगर र थाइची छ्वानमा ललितपुरकै अञ्जली लुङगेली मगर छानिए । आ–आफ्नो स्पर्धामा पहिलो भएका खेलाडी छनोट भएका हुन् । अन्तरप्रदेश उसु पुस ११ गतेदेखि सुरु हुँदै छ ।
छनोट हुन सफल खेलाडीलाई नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जन, बागमती प्रदेश उसु संघका अध्यक्ष अरुण क्षेत्रीलगायतले एक कार्यक्रमबीच प्रमाण पत्र प्रदान गरे ।