काठमाडौं । प्रधानमन्त्री तथा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डले मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका छन्।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा १३१ औँ ‘माओ दिवसका सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले आजको राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिमा माओपछि निकै ठूलो फेरबदल आएपनि मार्क्सवादीहरूले ठोस परिस्थितिअनुसार आफूलाई रूपान्तरण गर्न नसकेको बताएका हुन् ।
उनले मार्क्सवाद ठोस परिस्थितिको ठोस विश्लेषण गर्ने दर्शन भएको बताउँदै आजको सन्दर्भमा विचारको विकास नै कम्युनिष्ट आन्दोलनको प्रमुख चुनौती रहेको बताएका छन् ।
उनले सामाजिक न्याय, सुशासन र समृद्धिको बाटोबाटै समाजवादको आधार तयार हुनेमा जोड दिए । प्रधानमन्त्री प्रचण्डले विकास, सेवा र सुशासनको क्षेत्रमा सरकारले राम्रो काम गरिरहेको भन्दै आफ्नो कार्यकाल दोस्रो वर्षमा प्रवेश गर्दै गर्दा ती क्षेत्रमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने समेत बताए ।