काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि वामपन्थी शक्ति एकताबद्ध हुनुपर्ने बताएका छन् ।
पार्टीको आजदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा उनले लोकतान्त्रिक वाम शक्तिले राजनीतिक स्थिरता कायम गरी मुलुकलाई समाजवादतर्फ अगाडि बढाउन सक्ने बताएका छन् ।
राजनीतिलाई विचारहीन, सिद्धान्तहीन र सस्ता नाराको खेल बनाउने प्रवृत्ति बढ्दै गएको उल्लेख गर्दै अध्यक्ष नेपालले समाजवादी कार्यदिशा भएको बलियो लोकतान्त्रिक शक्तिले मात्रै प्रतिगमनवादीलाई हस्तक्षेप गर्न सक्ने बताए।
अध्यक्ष नेपालले भने, ‘वैचारिक तथा सैद्धान्तिक कार्यदिशा भएको, अहिलेको संकटको वस्तुगत विश्लेषण र समाधानको स्पष्ट बाटो लिएको राजनीतिक शक्ति भएको पार्टी नेकपा एकीकृत समाजवादी नै हो ।’
पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले भूराजनीतिक दबाब बढ्दै गएकाले राष्ट्रिय हितकाविरुद्ध अनेक षडयन्त्र हुनसक्ने खतरा औँल्याए । राष्ट्रिय राजनीतिले एकपछि अर्को प्रतिकूलताको सामना गर्नुपरेकाले आर्थिक क्षेत्रमा समस्या गहिरिँदै गएको उनको भनाइ थियो ।
भ्रष्टाचार र अनियमितताले सामाजिक मनोविज्ञान बिथोलिँदै गएको बताउँदै अध्यक्ष नेपालले भने, ‘सहि राजनीतिक कार्यदिशाको खाँचो छ ।’ उनले विद्रोहबाट जन्मेको आफ्नो पार्टी सङ्गठनात्मकरुपमा विस्तार गर्नुपर्नेमा जोड दिए ।