काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको शिक्षा क्षेत्रको सुधारका सरकार लागिपरेको बताएका छन् ।
कान्तिपुर एजुकेशन समिट(शैक्षिक बहस) समारोहलाई आज यहाँ सम्बोधन गर्दै उनले शिक्षा क्षेत्रको सुधारका लागि सरकार लागिपरेको बताएका हुन् ।
उनले भने, ‘नेपालको उच्च शिक्षाले भूमण्डलीकरणको वैश्विक समस्याको सामना गरिरहेको सन्दर्भमा यस्ता कार्यक्रम विचार मन्थनका दृष्टिले मात्र नभएर विश्वभरिका अनुभवको आलोकमा हाम्रो आफ्नो विशिष्टता र मौलिकतासहित नीति निर्माणका निम्तिसमेत गुणात्मक योगदान दिन सक्छन् ।’
शिक्षालगायत राष्ट्रिय जीवनका अधिकांश क्षेत्रमा भूमण्डलीकरणको प्रभाव परिरहेको उनको भनाइ छ ।
पछिल्लो समय नयाँ पुस्तामा देशको शिक्षा गुणस्तरीय छैन, यसले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्दैन भनेर नकारात्मक भाष्यको विकास हुँदै गएको र त्यसको प्रत्यक्ष प्रभाव बौद्धिक जनशक्तिको पलायनका रुपमा अभिव्यक्त भइरहेको जनाउँदै प्रधानमन्त्रीले त्यस्तो भाष्यलाई निरुत्साहित गर्नुपर्ने बताए ।