एमालेले टुंग्यायो राष्ट्रियसभा चुनावका १९ उम्मेदवार, कहाँबाट को ?



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रियसभामा पठाउने १९ जना उम्मेदवारहरु टुङ्गो लगाएको छ । पार्टी सचिवालय नेताका अनुसार अध्यक्ष ओलीले नामहरु फाइनल गरेका हुन् ।

एमालेले कोशीमा अन्यबाट भोजपुरका पर्शुराम अधिकारी र महिलाबाट सुनसरीकी रुक्मिणी चौधरीलाई उम्मेदवार बनाउने भएको छ । त्यसैगरी, एमालेले बागमतीबाट अन्यमा चितवनका त्रिलोचन निर्मल पौडेल, महिलामा दोलखाकी रोचकुमारी चौलागाईं, अल्पसंख्यक र अपंगता भएकाबाट काठमाडौंका विवेक देवकोटा र दलिततर्फ धादिङका ध्रुवराज विश्वकर्माको नाम सार्वजनिक गरेको छ ।

मधेशमा अन्यबाट महोत्तरीका अर्जुनकुमार सिंह र महिलातर्फ पर्साकी उषादेवी थरुनीलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

त्यसैगरी, रष्ट्रियसभामा एमालेका उम्मेदवारहरुमा गण्डकीमा अन्यबाट स्याङ्जाका चक्रबहादुर पराजुली, महिलातर्फ गोरखाकी सम्झना देवकोटा, र अल्पसंख्यक तथा अपांगताबाट मुस्ताङका हेमचन्द्र शेरचन रहेका छन् ।

लुम्बिनीमा अन्यबाट पाल्पाका झपेन्द्रबहादुर घर्ती र महिलातर्फ दाङकी तुलसाकुमारी केसीलाई एमालेले उम्मेदवार बनाउने भएको छ ।

उता, कर्णालीबाट महिलातर्फ हुम्लाकी विमलाकुमारी शाही, अन्यतर्फ मुगुका डिल्लीप्रसाद भट्ट र दलिततर्फ दैलेखका हिक्मत विकलाई एमालेले राष्ट्रियसभामा उम्मेदवार बनाउने भएको हो ।

यस्तै, सुदूरपश्चिममा अन्यबाट कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र अल्पसंख्यक तथा अपांगतातर्फ कैलालीका रामचन्द्र जोशी र महिलातर्फ कैलालीकी सावित्रादेवी घिमिरे रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्