कुपण्डोल ४० प्लसले प्रथम कुसुन्ती ललितपुर मेयर कप एट ए साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि शनिबार जितेको छ ।
कुसुन्ती युवा क्लब र ललितपुर महानगरपालिका वडा १३ द्वारा संयुक्त आयोजित प्रतियोगिताको फाइनलमा कुपण्डोलले फ्रिडम ‘ए’ लाई टाइब्रेकरमा ३–२ गोलले पराजित ग¥यो । पेनाल्टीमा कुपण्डोलका निलेन्द्र देवान, उज्ज्वल श्रेष्ठ र राजु तामाङले गोल गरे । फ्रिडम ‘ए’ का भगवान थापा र विकर्ण श्रेष्ठले गोल गरे भने राजनलाल नेपाली चुके ।
जावलाखेल युथ क्लबको मैदानमा भएको फाइनलको निर्धारित ६० मिनेट समयको खेल २–२ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय सोझै पेनाल्टी सुट आउटबाट गरिएको थियो । निर्धारित समयमा कुपण्डोलबाट राजु तामाङ र फाइनलका ‘म्यान अफ द म्याच’ निलेन्द्र देवालले क्रमशः २२ र ५६ औं मिनेटमा गोल गरेका थिए । फ्रिडम ‘ए’ का विकर्ण श्रेष्ठले ३१ औं र राजकुमार घिसिङले ५८ औं मिनेटमा गोल गरेका थिए । उपाधिसंगै कुपण्डोलले १ लाख ७५ हजार नगद पुरस्कार पायो भने फ्रिडम ‘ए’ ले ७५ हजार नगद पुरस्कारमा चित्त बुझायो ।
ललितपुर महानगरपालिको सहयोगमा भएको प्रतियोगितामा कुपण्डोलका राजु तामाङ सर्वोत्कृष्ट खेलाडी घोषित भए । कुपण्डोलकै सुनिल महर्जन उत्कृष्ट डिफेन्डर तथा फ्रिडम ‘ए’ का मुकुन्द थापा उत्कृष्ट गोलरक्षक चुनिए ।
विजेतालाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारी, ललितपुर महानगरपालिका वडा १३ का अध्यक्ष गणेश केसी, कुसुन्ती युवा क्लबका अध्यक्ष निरज खड्कालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । पुस २४ गतेदेखि सुरु नकआउट प्रतियोगितामा ३२ टिम सहभागी थिए ।