काठमाडौं । जर्मनीको ड्रेस्डेन खुला कराते प्रतियोगितामा च्याम्पियन्स मार्सल आर्ट्स एकेडेमीकी सायाङ लामाले प्रतिस्पर्धा गर्ने भएकी छिन् ।
जनवरी २७ तारिखमा हुने प्रतियोगितामा सायाङले ३६ केजी तौलसमूहमा प्रतिस्पर्धा गर्ने छिन् । सायाङको यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो । टिम व्यवस्थापकमा एकेडेमीकी प्रमुख कार्यकारी सुशिला लामा तथा प्रशिक्षकमा डिगम्बरप्रसाद पन्त रहेका छन् ।
टोलीलाई नेपाल सितोरियो कराते संघका अध्यक्ष एवं नेपाल कराते महासंघका महासचिव दावा गुरुङ र नेपाल सितोरियो कराते संघका सचिव प्रेमलाल बमजन बुधबार एक कार्यक्रमबीच बिदाइ गरे । टोली बिहीबार जर्मनी प्रस्थान गर्ने छ ।
विदाइ कार्यक्रममा नेपालमा भएको सातौं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको यु–२१ उमेरसमूहको ६७ केजीमा रजत जितेका एकेडेमीका खेलाडी अनिल बरामलाई पनि सम्मान गरिएको थियो ।