नेपाल बक्सिङ महासंघको तेस्रो कार्यसमितिको बैठक सम्पन्न



काठमाडौं । नेपाल बक्सिङ महासंघको तेस्रो कार्यसमितिको बैठक सम्पन्न भएको छ । महासंघका अध्यक्ष राम अवालेको अध्यक्षतामा ललितपुर हात्तीवन स्थित क्लासिक ब्याङ्केटमा सम्पन्न तेस्रो बैठकले विभिन्न उपसमितिहरु गठन गर्ने निर्णय गरेको छ ।

महासंघका महासचिव मान बहादुर भण्डारीका अनुसार तेस्रो पुर्ण कार्यसमिति  बैठकले आर्थिक उपसमितिको संयोजकमा महासंघका अध्यक्ष राम अवाले, निति तथा कार्यक्रम तर्जुमा उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्राविधिक उपसमिति संयोजकमा पुस्करराज पन्त, प्रशिक्षक उपसमिति संयोजकमा प्रचण्ड शर्मा, रेफ्री/जज उपसमिति संयोजकमा सविन भट्टचार्य, अनुशाशन उपसमिति संयोजकमा अर्जुन बहादुर के.सी, छनौट उपसमिति संयोजकमा मान बहादुर भण्डारी, प्रतियोगिता उपसमिति संयोजकमा रामबहादुर गिरी, स्कुल कमिशन संयोजकमा श्यामकाजी अवालेलाई  चयन गर्ने निर्णय गरेको छ ।
महासंघको सचिवालय स्तरको बैठकले यस अघि गरेको निर्णयहरुलाई पनि बैठकले अनुमोदन गरेको छ भने महासंघले आगामी वर्षको कार्यक्रममा स्कुल, जुनियर, युथ, ईलाईट र अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गर्ने र एएसबीसी, आइबा र आईओसीका अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा ब्यापक सहभागी गराउने निर्णय गरेको छ ।

बैठकले अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कभर्डहल निर्माण कार्य अघि बढाउने, त्रिपुरेश्वर स्थित महासंघको केन्द्रीय कार्यालयलाई ब्यबस्थित गर्ने, प्रशिक्षक तथा रेफ्रि/जज तालिम संचालन गर्ने, बक्सिङ खेल विकास र विस्तारका लागि विद्यालय स्तरमा आबश्यक जनचेतनामूलक कार्यक्रम तथा गोष्ठी सन्चालन गर्ने समेत निर्णय गरेको छ ।

सोफिया शहरमा बुल्गेरिया बक्सिङ महासंघले आयोजना गरेको ७५ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा आइबाद्वारा संचालित थ्री स्टार रेफ्री/जज शर्टिफिकेशन कोर्षमा सहभागी हुन लागेका टु स्टार रेर्फी/जज धनकुमार मैनालीलाई परीक्षा सफलताको शुभकामना दिदै अध्यक्ष तथा पदाधिकारीले बिदाई समेत गरेको छ  ।

प्रतिक्रिया दिनुहोस्