काठमाडौं । भ्याली पब्लिकले प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन मंगलबार दोहोरो जित हात पारेको छ । भ्याली पब्लिकको सिनियर ब्वाइज/गल्र्स दुवै टोलीले विजयी सुरुआत गरे ।
काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा भ्याली पब्लिकले अक्षरालाई ३६–९ ले पराजित ग¥यो । भ्याली पब्लिकका पासाङ शेर्पाले १४ अंक जोडे । सिनियर गल्र्समा पनि भ्याली पब्लिकले अक्षरालाई ३३–७ ले हरायो । भ्याली पब्लिककी प्रकृति खड्काले ८ स्कोर गरिन् । सिनियर गल्र्सकै अर्को खेलमा शिक्षालयले ब्रम्हकुञ्जलाई ५–३ ले पाखा लगायो । शिक्षालयकी जस्मिन गज्मेरले ४ अंक जोडिन् ।
सिनियर ब्वाइजमा कान्जिरोवाले प्रारम्भलाई ४०–२८ तथा शिक्षालयले न्यु स्टार पोललाई ३२–१४ ले पन्छाए । कान्जिरोवाका प्रवोशले १० तथा शिक्षालयका कमल श्रेष्ठले १२ अंक बटुले ।
प्रतियोगिताको डा. राजु अधिकारीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा अक्षराकी कार्यकारी निर्देशक अन्जु भट्टराई, प्रिन्सिपल मिलन केसी लोप्चन, शैक्षिक निर्देशक विष्णु पनेरुलगायतको उपस्थिति रहेको थियो ।
नकआउट प्रतियोगितामा सिनियर ब्वाइज/गल्र्समा समान १६–१६ तथा मिक्स जुनियरमा १२ टिम सहभागी छन् । मिक्स जुनियरमा सहभागी टिमले कम्तिमा २ गल्र्स खेलाडीलाई अनिवार्य समावेश गर्नु पर्ने छ ।