काठमाडौं । टेबलटेनिसकी पूर्व राष्ट्रिय च्याम्पियन एवं दक्षिण एसियाली खेलकुदकी कांस्य विजेता गीता थापा मगरले छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको भेट्रान ४० वर्षमाथि महिला सिंगल्समा मंगलबार स्वर्ण जितेकी छन् ।
ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा भइरहेको प्रतियोगिताको फाइनलमा धरान टेबलटेनिस क्लबकी गीताले ज्ञानभैरव डिल्लीबजार टेबलटेनिस एकेडेमीकी इन्दिरा पराजुलीलाई ११–९, ११–३ र ११–५ को सोझो सेटमा पराजित गरिन् । सीवाइसीकी विजेता ब्यञ्जन्कार र ज्ञानभैरवकी सम्झना पोखरेल तेश्रो भए ।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको यु–१६ गल्र्स सिंगल्समा धरान एन्ड टिस्टा टोर्सा टेबलटेनिस एकेडमीकी श्रेया धर पहिलो भइन् । श्रेयाले फाइनलमा स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीकी सुस्मिता खड्कालाई सीधा सेटमा १२–१०, ११–४ र ११–८ ले हराइन् । होप्सकी योङगी पौडेल र एपीएफ क्लबकी सोनम ठाकुर तेश्रो बने । दुवै स्पर्धामा स्वर्ण जित्नेलाई कोरियन बीबीक्युको गिफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।
प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । भारतबाट १६ पुरुष र ८ महिला तथा चीनबाट २ महिला खेलाडी सहभागी हुने छन् ।
प्रतियोगितामा पुरुष/महिला सिंगल्स र टिम, पुरुष सिंगल्स भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला सिंगल्स भेट्रान ४० वर्षमाथि तथा यु–१६ ब्वाइज/गल्र्स सिंगल्स गरी ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ । पुरुष/महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १०/१० हजार नगद पुरस्कार पाउने छन् । बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५/५ हजार नगद पुरस्कार जित्ने छन् । कुल नगद पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ रहेको छ ।