मतदाता नामावलीमा नाम दर्ता गर्न निर्वाचन आयोगको आह्वान



काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचन हुने क्षेत्रमा मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेको छ ।

आयोगले आज एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तह, प्रतिनिधि सभा र प्रदेश सभा गरी रिक्त २३ स्थानमा निर्वाचन हुने भएकाले यसअघि नाम छुटेका वा उमेर पुगेका नागरिकलाई नाम दर्ता गर्न आह्वान गरेको हो ।

२०७९ साल वैशाख १० गते स्थानीय तह र २०७९ मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा सदस्यको निर्वाचन सम्पन्न भएपश्चात स्थानीय तह, प्रतिनिधिसभा र प्रदेशसभा सदस्य गरी २३ पद रिक्त रहेको आयोगले जनाएको छ ।

आयोगले रिक्त पदमा उपनिर्वाचनद्वारा पदपूर्ति गर्न सरकारसँग परामर्श गरी उपयुक्त समयमा कानुन बमोजिम उपनिर्वाचनको मिति तोक्ने गरी आन्तरिक तयारी भइरहेको जनाएको छ ।

मतदाता नामावली ऐन, २०७३ को दफा ४ (२) बमोजिम निर्वाचनको मिति तोकिएपछि सोही दिनबाट नाम दर्ता गर्ने कार्य स्थगित हुने भएकाले सो अघि नै नाम दर्ता गर्न आयोगको आग्रह छ ।

प्रतिक्रिया दिनुहोस्