वैचारिक पतन भएर धार्मिक यात्रामा अग्रसर भएको कारण पार्टी छोडे: अनिल कुमार



काठमाडाैं । नेकपा माओवादी केन्द्रको भातृ संगठन दलित मुक्ति मोर्चा प्रदेश सदस्य अनिल कुमार कमान्डरले पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट बाहिरिएको घोषणा गरेका छन् । 

पछिल्लो समय पार्टीमा देखिँदै गएको अराजकता र पार्टी अध्यक्ष प्रचण्ड भारत भ्रमणमागएको समयमा देखिएको धार्मिक गतिविधिले सिङ्गो कम्युनिस्ट पार्टी माथि नै प्रश्न खडा हुनुको साथै पार्टी  वैचारिक रूपमा विचलितको दिशामा गएको कारण आफूले स्वघोषित रूपमा पार्टी परित्याग गरेको उनले बताएका छन् । 

माओवादी पार्टी अब कम्युनिस्ट पार्टी नभएर आध्यात्मिक पुँजीवादी झुन्डको एक हिस्सा भएको दाबी गर्दै आफू सम्पूर्ण जिम्मेवारी परित्याग गर्दै साधारण सदस्य समेत नरहने गरी बाहिरिएको अनिलले बताएका छन् ।

२०६८ सालमा तत्कालीन देविस्थान माविमा अखिल क्रान्तिकारी विद्यार्थी युनियनको अध्यक्ष पदको जिम्मेवारी सहित विद्यार्थी राजनीतिमा होमिएका अनिल २०७१ सालमा उत्तर गङ्गा नमुना माध्यमिक विद्यालयमा अखिल अध्यक्षको रूपमा ७२ देखि ७५ सालसम्म काम गरेका हुन । त्यसपश्चात् क्रमशः ७६ देखि ७८सम्म पालीका कमिटीको अधिवेशन हुँदै प्रदेश प्रतिनिधिको रूपमा काम गरेका अनिलले आगामी दिनमा स्वतन्त्र रूपमा समाजमा भएका चौतर्फी समस्या र शोषणको विरुद्धमा थप कडाइका साथ लागिपर्ने बताँउदै आफूले पूर्णरुपमा पार्टी परित्याग गरेको बताएका छन् । 

सानै उमेरदेखि हिन्दुधर्म भित्रको विभेद र समग्र जात व्यवस्थाको विरुद्धमा आफू निरन्तर लागिपरेको भएपनी माओवादी केन्द्रले उल्लेखित मुद्दालाई बेवास्ता गरेको र आफ्नो समुदायले भोगेको समस्याको समाधान उक्त पार्टीभित्रबाट नहुने निष्कर्षसहित स्वघोषित रूपमा राजीनामा दिएको बताएका छन् । 

नेपाली समाजमा विद्यमान विभेद र मुक्तिको निमित्त समतामूलक समाजको परिकल्पना गरिरहेको समयमा तत्कालीन माओवादी नेता दरिराम शर्माको प्रशिक्षणबाट प्रभावित भएर  माओवादी आन्दोलनमा होमिएको र शुभारम्भ चरणदेखि नै आफू रहेको सङ्गठनमा जात,लिङ्ग र धार्मिक विभेद विरुद्ध विद्रोह गर्दै कम्युनिस्ट आचरण ,व्यवहार नीति र सिद्धान्त उपर अन्तर सङ्घर्ष गर्दै आएको भएपनी अहिलेको वर्तमान समयमा माओवादी त्यो समयको क्रान्तिकारी माओवादी नभएको बरु विलयको बाटोमा अग्रसर देखिएको कारण आफू बाहिरिएको कमान्डरले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्