बक्सिङ र क्रिकेट खेलाडी पुरस्कृत



काठमाडौं । थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ पुरुष तथा महिला बक्सिङ च्याम्पियनसिपका पदक विजेता खेलाडी र प्रशिक्षकलाई आइतबार पुरस्कृत गरिएको छ । ४ खेलाडी, समान १–१ मुख्य प्रशिक्षक र सहायक प्रशिक्षकलाई जम्मा १६ लाख ८० हजार रुपैयाँ प्रदान गरियो ।

उक्त प्रतियोगितामा सुष्मा तामाङले रजत तथा हेमा राई, त्रिशा जबेगु र विजय बाटाले कांस्य जितेका थिए । सुष्माले ६ लाख पाइन् भने बाँकीले जनही ३ लाख नगद पुरस्कार प्राप्त गरे । मुख्य प्रशिक्षक दीपक महर्जनले १ लाख ८ हजार तथा सहायक प्रशिक्षक सन्दिप श्रेष्ठले ७२ हजार रुपैयाँ पाए ।

त्यस्तै युएइमा भएको आईसीसी यु–१९ पुरुष सीडब्लुसी एसिया क्वालिफायरको उपाधि विजेता क्रिकेट टोलीका १४ खेलाडी, समान १–१ मुख्य प्रशिक्षक, टिम व्यवस्थापक र फिजियो गरी १७ जनालाई ४६ लाख नगद पुरस्कार दिइयो ।

खेलाडीमा देव खनाल, दिपेशप्रसाद कँडेल, दीपक बोहरा, आकाश त्रिपाठी, उत्तम रंगु थापा मगर, दिपकप्रसाद डुम्रे, अर्जुन कुमाल, आकाश चन्द, हेमन्त धामी, दिपक बोहरा, दुर्गेश गुप्ता, सुभाष भण्डारी, विशालविक्रम केसी र मिलन बोहरा रहेका छन् । सबैले जनही ३ लाख नगद पुरस्कार हात पारे । मुख्य प्रशिक्षक जगतबहादुर टमाटाले २ लाख तथा टिम व्यवस्थापक विक्रम विष्ट र फिजियो पूर्णबहादुर तिरुवालाई समान १–१ लाख रुपैयाँ प्रदान गरियो ।

उनीहरुलाई युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बू, राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ, युवा तथा खेलकुद मन्त्रालयका सचिव रविलाल पन्थलगायतले सिंहदरबारस्थित खेलकुद मन्त्रालयमा आयोजित एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया दिनुहोस्