अर्किड प्युपल सेकेन्डरी स्कुलको आयोजनामा आठौं अर्किड कप सेभेन ए साइड अन्तरविद्यालय जुनियर छात्र फुटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ३२ टिमको सहभागिता रहने अर्किडका फुटबल प्रशिक्षक भीमकुमार तामाङले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । प्रतियोगितामा कक्षा ७ सम्म अध्ययनरत १३ वर्ष ननाघेका विद्यार्थीले भाग लिन पाउने प्रावधान छ ।
शीर्ष चार स्थानमा रहने टिमले क्रमशः ३० हजार, २० हजार, १५ हजार र १० हजार नगद पुरस्कार पाउने छन् । विभिन्न व्यक्तिगत विधामा पनि खेलाडीलाई पनि पुरस्कृत गरिने छ । फागुन १२ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु काडाँघारीस्थित आयोजकको आफ्नै मैदानमा हुनेछ ।