काठमाडौँ । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज प्रदेशसभा बैठकमा विश्वासको मत लिने तयारी गरेका छन् ।
विश्वासको मत लिने प्रयोजनका लागि दिउँसो २ बजे मधेस प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
डा.सिके राउत नेतृत्वको जनमत पार्टीले सरकारबाट बाहिरिएर समर्थन फिर्ता लिएपछि यादवले विश्वासको मत लिन लागेका हुन् । गत माघ ९ गते जनमत पार्टी सरकारबाट बाहिरिएको थियो ।
गत पुस २७ गते जसपाबाट मुख्यमन्त्री बनेका यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन् । १०७ सदस्यीय मधेश प्रदेशसभामा विश्वासको मत पाउन ५४ सांसदको समर्थन आवश्यक पर्दछ ।
यादवलाई जनमत पार्टीले विश्वासको मत फिर्ता लिए पनि गठबन्धनमा रहेका नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोसपाले भने यादवलाई मत दिने जनाएका छन् ।