काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले कुनैपनि राष्ट्रिय खेल संघको साधारण सभाले चयन गर्ने केन्द्रीय कार्यसमिति भन्दा पनि त्यो कार्यसमितिले तर्जुमा गर्ने कार्य योजना अझ महत्वपूर्ण हुने बताएका छन् ।
सोल्टीमोडमा भएको ई स्पोर्ट्स संघ नेपालको पहिला साधारण सभाको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य–सचिव घिसिङले सो कुरा बताएका हुन् ।
‘कुनैपनि राष्ट्रिय खेल संघको साधारण सभाले केन्द्रीय कार्यसमिति चयन गर्नु राम्रो हो । यो स्वभाविक प्रकृया हो । अझ महत्वपूर्ण कुरा के हो भने, कार्यसमितिले कस्तो कार्य योजना तयार गरे अघि बढ्छ भन्ने हो । इ स्पोर्ट्स संघले पनि सबैले अनुभूति गर्ने गरी कार्य योजना तयार गरेर अगाडि बढ्ने छ भन्नेमा मलाई विश्वास छ ।’
सदस्य–सचिव घिसिङले ई स्पोर्ट्सले विगतमा अन्तर्राष्ट्रिय प्रतियोगितामा हासिल गरेको उपलब्धीलाई ध्यानमा राखि ई स्पोर्ट्स संघ राखेपमा दर्ता गरेको बताए । ‘विगतमा नेपाली ई स्पोर्ट्सले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गरेको छ । मेरो कार्यकालमा २० देखि २५ वटा संघ दर्ताका लागि आएको थियो ।
मैले कुनैपनि संघ दर्ता गर्न मानिन ।’ सदस्य–सचिव घिसिङले भने– ‘तर, संसार जुन परिवेशमा अगाडि बढि रहेको छ, त्यसको आवश्यकतालाई महशुस गरी ई स्पोर्ट्स राखेपमा दर्ता गरेको हुँ । करिब दुई वर्षको मेरो कार्यकालमा दर्ता भएको ई स्पोर्ट्स पहिलो संघ हो । नेपाली खेलकुदमा नयाँ युगको स्थापना भएको छ भन्ने सन्देश दिने गरी नयाँ कार्यसमितिले काम गर्ने छ भन्ने मैले विश्वास लिएको छु ।’