काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोच विचार गरेर नै नयाँ गठबन्धन बनाइएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको बागमती प्रदेश समितिको बैठकलाई सम्बोधन गर्दै उनले राष्ट्रिय आवश्यकता र जनचाहनालाई ध्यानमा राखी नयाँ गठबन्धन बनाइएको स्पष्ट पारे । उनले हालको सत्तागठबन्धनलाई लामो समयसम्म लैजाने सोच र लक्ष्यका साथ पार्टीले निर्णय गरेकाले त्यसलाई अक्षरशः लागू गरिने स्पष्ट पारे।
गठबन्धन परिवर्तन गर्ने निर्णय एकाएक नभएको उल्लेख गर्दै उनले वामपन्थी शक्तिलाई एकै ठाउँमा ल्याउने लक्ष्य राखिएको बताए । पछिल्लो एक वर्षको अनुभवका आधारमा नयाँ निर्णय लिनु नै सुरक्षित उपाय भएको प्रधानमन्त्रीको भनाइ रहेको नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डिपी ढकालले जानकारी दिए ।