काठमाडौं । चौथो राष्ट्रिय खुल्ला फ्रेन्डसिप तेक्वान्दो प्रतियोगिताको वैशाख २ गते हुने भएको छ ।
कोटेश्वर तेक्वान्दो डोजाङको आयोजना, नेप्लिज तेक्वान्दो एकेडेमी (एनटिए) को सहआयोजना तथा अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी)को सहयोगमा सो प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिताका संयोजक तथा तेक्वान्दोका प्रमुख प्रशिक्षक नविनकुमार श्रेष्ठले राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुने प्रतियोगितामा देशभरका ६०० भन्दा बढी खेलाडीले सहभागिता जनाउने जानकारी दिए । गेरोगीतर्फ सिनियर पुरुष/महिलामा समान छ/छ गरी कुल १२ स्पर्धा र जुनियरतर्फ पुरुष/महिलामा समान दस/दस गरी २० स्पर्धामा भिडन्त हुनेछन् । यसैगरी पुम्सेको व्यक्तिगत, समुहगत र जोडी सहित १२ स्पर्धा समावेश गरिएको छ । गेरोगी र पुम्सेमा गरी कुल ४४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
यो प्रतियोगिता इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिप (आइओएफटिसी) को छनोट पनि हो । यस प्रतियोगिताबाट तीन महिला र तनि पुरुष गरी छ खेलाडी इन्टरनेसनल ओपन तेक्वान्दो च्याम्पियनसिपमा चयन हुनेछन् । सिनियर तौल समुहका स्वर्ण विजेतालाई ओलम्पिक तौल समुहमा विभाजन गरी पुनः प्रतिस्पर्धा गराइनेछ । जसमा विजयी हुनेले दक्षिण कोरियामा हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्न पाउनेछन् । दक्षिण कोरियाका लागि छनोट हुने सबै जनही ५० हजार रुपियाँ पुरस्कार पनि प्राप्त गर्नेछन् । सो प्रतियोगिता आगामी अगस्ट २३ र २४ मा दक्षिण कोरियाको सोलमा हुँदैछ ।
यसैगरी प्रतियोगिताका शीर्ष तीन टोलीले क्रमशः एक लाख, ५० हजार र २५ हजार रुपियाँ पाउनेछन् । त्यसैगरी, उत्कृष्ट प्रशिक्षक र उत्कृष्ट निर्णायकलाई जनही दस हजार रुपियाँ प्रदान गरिनेछ ।
आइओएफटिसी हेडक्वाटरका निर्देशक ग्रान्डमास्टर दिवाकर महर्जनले सन् २००० देखि सुरु भएको आइओएफटिसीको उद्देश्य कुनै पनि खेलाडी एकतावद्ध भएर मैत्री वातावरणमा तेक्वान्दोको अनुभव दिलाउनका लागि हो भने । उहाँले नेपालाहिर अन्तर्राष्ट्रिय ओपन फ्रेन्डसिप तेक्वान्दो च्याम्पियनसिपको आयोजना हुँदा खेलाडी छनोट गर्ने प्रावधानअनुरुप यसपटक पनि यो प्रतियोगिता हुन लागेको जानकारी दिए ।
यसैगरी नेप्लिज तेक्वान्दो एकेडेमीका अध्यक्ष तथा सहसंयोजक अशोक खड्काले यो खुला प्रतियोगिता भएकोले सबै खेलाडीको सहभागिता रहने विश्वास व्यक्त गरे ।