अन्जनी तेली पराजित



काठमाडौं । नेपाली मुक्केबाज अन्जनी तेली बक्सिङ रोड टु पेरीस भन्ने मुल नाराका साथ मित्रराष्ट्र थाईल्याण्डको राजधानी बैंककमा जारी दोस्रो तथा अन्तिम ओलम्पिक क्वालिफाइङ खेलमा पराजित भएकी छिन् ।

महिला ५४ के.जी. तौल समूह अन्तर्गत प्रारम्भिक – राउन्ड ३२ मा हङ्कङ्की मुक्केबाज अउ यिन विनीलाई ५ः० अंकको आधारमा पराजित गरी राउन्ड १६ को  खेल खेलेका तेली मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिकसंग २७–३० अंकको आधारमा पराजित भएकी हुन् ।

नेपाली मुक्केबाज अन्जनी तेली गत वर्ष मित्र राष्ट्र भारतमा सम्पन्न आईबिए विश्व बक्सिङमा ५४ केजी तौल समुहमा दुई बाउट जित्दै आईबीए महिला विश्व बक्सिङ च्याम्पियनसिपको क्वाटरफाइनलमा पुगेकी बक्सर हुन् । उनी विश्व बक्सिङ च्याम्पियनसिपमा नेपालको पहिलो क्वाटरफाइनलमा पुग्ने खेलाडी हुन् ।

तेली गतवर्ष सम्पन्न वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता र बागमती प्रदेशको आयोजनामा चितवन भरतपुरमा सम्पन्न अन्तरप्रदेश राष्ट्रिय बक्सिङ प्रतियोगितामा प्रथम हुन सफल भएकी थिईन् । सोही आधारमा उनी उक्त ओलम्पिक क्वालिफाइङमा नेपाल बक्सिङ महासंघले छनोट गरेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले बताएका छन् ।

नेपाली मुक्केबाज तेलीलाई पराजित गर्दै राउन्ड ८ मा पुग्न सफल मोन्टेनेग्रोकी मुक्केबाज बोजाना गोजकोभिक जुनियर र युथ युरोपियन बक्सिङ च्याम्पियनसिपमा ४ पटक च्याम्पियन बनेकी थिइन् भने २०२२ मा सम्पन्न युरोपेली महिला बक्सिङ च्याम्पियनसिपमा उपबिजेता बनेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्