काठमाडौं । हेराल्ड इन्टरनेसनल कलेजको आयोजनामा हेराल्ड एसइइ कप थ्री अन थ्री बास्केटबल प्रतियोगिता शनिबारदेखि हुने भएको छ ।
प्रतियोगितामा ९७ टिमको सहभागिता रहने हेराल्डका अध्यक्ष कपिल ज्ञवालीले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । ब्वाइजमा ६४ तथा गल्र्समा ३३ गरी ९७ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्ने छन् ।
दुवै समूहको विजेताले १५ हजार तथा उपविजेताले १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । सहभागी सबै खेलाडीले छात्रवृत्ति पनि पाउने छन् । विजेताले ७० प्रतिशत, उपविजेताले ६५ प्रतिशत र बाँकीले ५० प्रतिशत छात्रवृत्ति पाउने छन् ।
दुईदिने प्रतियोगिताका खेलहरु धापासीस्थित आयोजकको आफ्नै कोर्टमा खेलाइने छ । आयोजकका अनुसार प्रतियोगिता सञ्चालन गर्न करिब ४ लाख रुपैयाँ खर्च हुनेछ ।
पत्रकार सम्मेलनमा हेराल्डका निर्देशक अशोकराज पाण्डे, प्रिन्सिपल विनोद ज्ञवाली, एकेडेमिक को–ओर्डिनेटर दिपेन्द्र पुडासैनी तथा सिफ्ट इन्चार्जद्वय मदनप्रसाद फुयाल र राजेश अर्यालको उपस्थिति रहेको थियो ।