मैथिली साहित्यका किशोर अनुवादक विमर्श झाको कृतिमाथि अन्तरक्रिया



काठमाडौँ । मैथिली साहित्यका सबैभन्दा कान्छा अनुवादक विमर्श झाद्वारा अंग्रेजीमा अनुदित ‘क्राइ नो मोर सीता’ कविता संग्रहमाथि अन्तरक्रिया गरिएको छ । काठमाडौँमा आयोजित एक कार्यक्रमका बिच मूल मैथिलीमा रहेको कवियीत्री विभा झको कविता संग्रह ‘नहि सीता नहि’को अंग्रेजी अनुवाद ‘क्राइ नो मोर सीता’को लोकार्पण तथा अन्तरक्रिया गरिएको हो ।

उक्त कृतिका कविताहरु सीतामाथि आधारित रहेको छ । कार्यक्रममा १७ वर्षीय अनुवादक विमर्श झासँग युवाकवि विकास वत्सनाभले संवाद गरेका थिए । सानो उमेरमा किन अनुवादजस्तो गम्भीर विषयको चयन गरेको एक प्रश्नमा अनुवादक झाले भने( ‘मैथिली मेरो मातृभाषा हो तर यो भाषाको समृद्ध साहित्यलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरसम्म पुर्याउन अंग्रेजी अनुवाद आवश्यक रहेको छ । त्यही भएर मैले अनुवाद गर्ने विचार गरेको हुँ ।’

अनुवादक झाले कृति अनुवाद गर्दा आफूलाई मैथिली शब्दभण्डारको विराटता र महिलाहरुको मनभित्रको भावहरुलाई बुझ्ने अवसर प्राप्त भएको बताए । कविता संग्रह ‘क्राइ नो मोर सीता’को प्रकाशन विमर्श फउण्डेशनले गरेको हो । फाउण्डेशनकी अध्यक्ष विभा झाले मैथिली साहित्यमा युवहरुको आगमनले उत्साह थपिएको बताइन् । अध्यक्ष झा कृतिका मुल लेखक पनि हुन् ।

कार्यक्रमको प्रमुख अतिथि भाषावैज्ञानीक डा।रामावतार यादवले किशोर अनुवादक विमर्श झाको अनुवाद कलाको प्रशंसा गर्दै भने, ‘मैथिली साहित्यलाई विमर्शजस्तो जोशिला युवा सर्जक तथा अनुवादको खाँचो छ ।’ उनले क्राइ नो मोर सीता एक सफल अनुवाद कृति भएको बताउँदै अनुवाद साहित्यमा झाको निरन्तरताको कामना गरे ।

कार्यक्रमको अध्यक्षता गरेका शम्भु झाले कान्छा अनुवादक विमर्शमा साहित्यचेत र निकै सम्भावना भएको बताए । उनले आगामी दिनमा पनि अन्य राम्रा मैथिली कृतिको अनुवाद आउनेमा आफू आशावादी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्