नवौ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप सुरु



नेपाल हाप्किडो संघको आयोजना तथा राष्ट्रिय खेलकुद परिषद् तथा कर्णाली खेलकुद परिषद्को स्वीकृतिमा नवौँ राष्ट्रिय हाप्किडो च्याम्पियनसिप आइतबार सुरु भयो । प्रतियोगिताको कर्णाली प्रदेश सरकारका सामाजीक विकास मन्त्री वीर बहादुर शाहीले उद्घाटन गरे । उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वमित्र सञ्जेल विशेष अतिथीको रुपमा उपस्थित थिए । यसैगरी कर्णाली प्रदेश खेलकुद विकास परिषद्का उपाध्यक्ष प्रमोद हमाल पनि कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी शाहीले कर्णाली प्रदेशमा राष्ट्रिय च्याम्पियनसिपको आयोजना हुनु प्रदेश खेलकुदकै लागि गर्वको विषय भएको बताएका छन् । नेपाल हाप्किडो संघका अध्यक्ष तथा दक्षिण एसियाली हाप्किडो महासंघका अध्यक्ष कालीबहालुर घर्ती मगरले सबै प्रदेशमा चक्रिय रुपले कार्यक्रम आयोजना गर्ने निती अन्तरगत अहिले कर्णालीमा आयोजना भएको बताए ।

कर्णाली प्रदेशको सुर्खेतमा हुने सो प्रतियोगितामा ५२ जिल्लाका खेलाडीको सहभागिता छ । यो च्याम्पियनसिपले नेपाली हाप्किडोलाई नयाँ दिशा दिने विश्वास रहेको हाप्किडो संघका मुख्य प्रशिक्षक प्रवीण गुरुङले बताए ।  क्युरोगी, होसिनसुल, हाइ फल, लङ फल र विपन टेक्निकमा प्रतिस्पर्धा हुने छन् ।

संघको नियमित वार्षिक कार्यक्रम अनुसार च्याम्पियनसिप हुने लागेको हो । प्रत्येक संस्करण फरक प्रदेशमा आयोजना गर्ने नीति अनुसार नवौँ संस्करण कर्णालीमा हुने लागेको हो ।

शीर्ष तिन स्थान पाउने टोलीका साथै उत्कृष्ट महिला र पुरुष खेलाडीलाई नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । साथमा अनुशासित खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट जिल्ला र उत्कृष्ट स्कुल डोजाङलाई पनि सम्माीनत गरिने छ ।

कर्णाली प्रदेशको विशेषतालाई देशव्यापी रुपमा परिचित गराउन  समेत यो प्रतियोगिता उपयोगी सावित हुने विश्वास स्थानिय आयोजक कर्णाली प्रदेश हाप्किडो संघका अध्यक्ष गंगाराम तिमिल्सेनाको छ । पछिल्लो समय कर्णालीमा हाप्किडोको तिब्र विकास भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्