कुवेर फिल्मस्को बितरणमा छलाङ



काठमाडौं । फिल्म बितरणमा छोटो समयमै आफ्नो दरिलो स्थान बनाउन सफल भएको कुवेर फिल्मस्ले अब देशब्यापी रुपमा हिन्दी फिल्म पनि बितरण गर्ने भएको छ । यही शुक्रबार अर्थात् ७ असारमा प्रदर्शन हुन लागेको हिन्दी फिल्म ‘इश्क भिश्क रिबाउन्ड’ बाट देशब्यापी बितरण सुरु गरेको छ ।

यसअघि ‘ड्रिम गर्ल–२’ र ‘घुमर’ नेपाल भित्र्याएको यो कम्पनीले सन् २००३ मा बनेको शाहिद कपुरको डेब्यु फिल्म ‘इश्क भिस्क’ को सिक्वेल मानिएको ‘इश्क भिस्क रिबाउन्ड’ नेपाल प्रदर्शन अधिकार लिएको हो । ‘इश्क भिस्क रिबाउन्ड’ मा पश्मिना रोशन,रोहित सर्राफ,जिब्रान खान,नैला ग्रेवाललगायतका नयाँ पुस्ताका कलाकारले अभिनय गरेका छन् । निपुन धर्माधिकारीको निर्देशनमा बनेको लभस्टोरी फिल्म अहिले चर्चामा छ ।

कुवेर फिल्मस्का आशिष तामाङले आफूहरुले नेपालीसँगै हिन्दी फिल्म बितरणलाई पनि ब्यबस्थित रुपमा सुरु गरेको बताए । अहिलेसम्म नेपाली फिल्मको मोफसल बितरण अधिकार मात्रै लिदै आएकोमा ‘इश्क भिस्क रिबाउन्ड’ भने देशब्यापी प्रदर्शन गर्न लागेको जानकारी उनले दिए ।

‘भागवत गीता’, ‘रंगेली’ र ‘फर्की फर्की’ मोफसलका हलमा बितरण गरिसकेको कम्पनीले बिराज भट्टको ‘१२ गाउँ’,धीरज मगर र उपासना सिंह ठकुरी अभिनीत ‘खुस्मा’, बिपीन कार्की र मिरुना मगर अभिनीत ‘उनको सुइटर’ लगायतका फिल्मको मोफसल प्रदर्शन अधिकार लिइसकेका छन् ।

‘अब हामी नेपाली फिल्म पनि देशब्यापी प्रदर्शन अधिकार लिने तयारीमा छौं । छिट्टै नै केही फिल्म लिदैछौ,’ आशिष भन्छन्,‘फिल्म बितरणलाई ब्याबसायिक रुपले लिएका छौं । त्यसकारण स्वदेशी,बिदेशी दुवै फिल्म बितरण गर्छौं ।’ उनले आफूहरुले अत्यन्तै ब्यबस्थित,पारदर्शी ढंग र निर्माताको सोचअनुसार फिल्म प्रदर्शन गर्ने भएकाले एकपछि अर्को ठूलो ब्यानर र कलाकारका फिल्म आफूहरुको कम्पनीले पाइरहेको बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्