काठमाडौं । बाग्मती प्रदेश स्तरीय सुजेन्द्रप्रसाद श्रेष्ठ स्मृति भेट्रान ¥यापिड चेस प्रतियोगिताको उपाधि विहीबार भगवतीप्रसाद शर्माले जितेका छन् । ठमेलमा भएको एकदिने प्रतियोगितामा अपराजित रहेका उनले ५.५ अंक जोड्दै सफलता हात पारेका हुन् ।
५० वर्षमाथिका २८ खेलाडीले ६ राउन्डमा प्रतिस्पर्धा गरेको उक्त प्रतियोगितामा पवन खड्का, दामोदर गैंजु, गणेशमान दुवाल र पुरुषोत्तम दुवाल समान ४.५ अंक जोड्दै शीर्ष पाँच स्थानमा अटाए । अंक बराबर भएपछि टाइब्रेकरको आधारमा पवन दोस्रो, दामोदर तेस्रो, गणेशमान चौथो र पुरुषोत्तम पाँचौ भएका हुन् । राजेश कक्षपति, पूर्णराज खड्का, गणेश अवाल (तीनैको ४ अंक), राजेन्द्र बज्राचार्य र बद्रीलाल नेपाली (दुवैको ३.५ अंक) शीर्ष १० मा रहे ।
विजेता भगवतीप्रसादले १० हजार, दोस्रो भएका पवनले ५ हजार, तेस्रो स्थानमा रहेका दामोदरले २ हजार ५ सय र चौथो भएका गणेशमानले १ हजार २ सय ५० रुपिया, ट्रफी तथा प्रमाणपत्र प्राप्त गरे । पँचौंदेखि दसौंसम्म रहनेलाई जनही १ हजार रुपिया प्रदान गरियो ।
अखिल नेपाल चेस संघले पूर्वखेलाडी सुजेन्द्रप्रसाद श्रेष्ठको स्मृतिमा भेट्रान प्रतियोगिता आयोजना गरेको हो । नेपाल बुद्धिचाल महासंघमा उपाध्यक्षसमेत भएका श्रेष्ठको २०७९ साल चैत २४ गते मृत्यु भएको थियो । राष्ट्रिय बुद्धिचाल प्रतियोगिता २०६५ मा तेस्रो भएका उनी एफएम (फिडे मास्टर) पनि भएका थिए ।
‘उहाँको सम्मानमा भेट्रान खेलाडीका निम्ति बाग्मतीबाट प्रतियोगिता सुरु गरेका छौं,’ अखिल नेपाल चेस संघका अध्यक्ष दीपेन राईले भने, ‘प्रदेश स्तरीय प्रतियोगिता सबै प्रदेशमा आयोजना गर्दैछौं । सातै प्रदेशका उत्कृष्ट खेलाडीहरूलाई समावेश गरी राष्ट्रिय प्रतियोगिता पनि आयोजना गर्नेछौं ।’
नेपाल बुद्धिचाल महासंघका वरिष्ठ उपाध्यक्षसमेत रहेका राईका अनुसार प्रदेश स्तरीय प्रतियोगिता असाढ १७ देखि २९ गतेसम्म हुनेछ । त्यसपछि राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ ।