सरितालाई स्वर्ण



काठमाडौं । पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा कोशी प्रदेशकी सरिता थुलुङले सोमबार स्वर्ण जितेकी छन् । महिला ६७ केजीमाथि सरिताले ६५ केजी भार वहन गरिन् । बागमती प्रदेशकी संगिता लिम्बूले ४१ केजी तथा गण्डकी प्रदेशकी भावना केसीले ४० केजी तौल उठाउदै क्रमशः रजत र स्वर्ण हात पारे ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको महिला ६७ केजीमुनि कोशीकी अनुकला राई पहिलो भइन् । अनुले ४२ केजी वजन उचालिन् । कोशीकै सम्झना वन दोश्रो तथा गण्डकीकी सर्मिला विश्वकर्मा तेश्रो भए । सम्झनाले ४० तथा सर्मिलाले ३६ केजी भार वहन गरे ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको ५० केजीमुनि ३४ केजी तौल उचालेकी लुम्बिनी प्रदेशकी हुमा मगरले स्वर्ण जितिन् । २५ केजी तौल उठाएकी सुदूरपश्चिमकी रोशनी थापा दोश्रो भइन् ।

दुईदिने प्रतियोगिताको पुरुषमा ४ र महिलामा ३ गरी ७ स्पर्धामा ४२ खेलाडीको सहभागिता रहेको राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङले जनाएका छन् । अन्तिम दिन मंगलबार पुरुषतर्फ ४ स्पर्धाको फाइनलमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्