गुणराज विशेष प्रशिक्षणका लागि थाइल्यान्ड जाने



मुवाँथाई खेलाडी गुणराज रुचाल विशेष प्रशिक्षणका लागि मंगलबार थाइल्यान्डको बैंकक जाने भएका छन् । एकमहिने विशोष प्रशिक्षण गुणराजले बुधबारदेखि सुरु गर्ने छन् । उनले बैंककस्थित टाइगर आई मिक्स मार्सल आर्ट्स एकेडेमीमा प्रशिक्षण गर्ने छन् ।

प्रतियोगिता र प्रशिक्षणका लागि गुणराज थाइल्यान्ड जान लागेको यो १२ औं पटक हो । २०७१ सालदेखि मुवाँथाई खेल्न थालेका गुणराजले आफ्नो करियरमा ७ स्वर्ण र २ कांस्य पदक जितेका छन् । त्यसमा मुख्य उपलब्धी भनेको गत फागुनमा बैंककमै भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपमा जितेको स्वर्ण हो । उनले सेमी प्रोको पुरुष ५४ केजीमा स्वर्ण जितेका थिए । त्यो स्वर्ण नेपाली मुवाँथाईको इतिहासमा कुनैपनि खेलाडीले सेमी प्रोमा जितेको एक मात्र स्वर्ण हो ।

मुवाँथाईअघि गुणराजले सितोरियो कराते र आइकिडो खेलेका थिए । प्रशिक्षणका दौरान मिल्यो भने प्रतियोगिता पनि खेल्ने गुणराजले बताए ।

प्रतिक्रिया दिनुहोस्