प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ सुरु



नेपाल बक्सिङ महासंघ र प्रकाश दाहाल प्रतिष्ठानको संयुक्त आयोजनामा चौथो प्रकाश दाहाल स्मृति राष्ट्रिय खुला बक्सिङ प्रतियोगिता सोमबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक कार्यक्रमबीच उद्घाटन गरे । समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले दिवङ्गत प्रकाश दाहालको जन्मजयन्तिको अवसर पारेर सुरु गरिएको प्रतियोगितामा युवाहरूको उपस्थितिले प्रकाश युवामाझ लोकप्रिय रहेको आफूले महसुस गरेको बताउदै यस प्रतियोगिताले बक्सिङ खेलमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरे ।

सो अवसरमा प्रधानमन्त्री दाहालले  थाइल्यान्डमा भएको १९ औं विश्व मुवाँथाई च्याम्पियनसिपको सेमी प्रो स्पर्धामा स्वर्ण जितेका गुणराज रुचाललाई सम्मान गरेका थिए । कार्यक्रममा पूर्व मन्त्री विना थापा मगर, राखेपका उपाध्यक्ष शिव कोइराला, राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवालेलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा जिल्ला, क्लब, नेपाल प्रहरी, नेपाल आर्मी र एपीएफ गरी ३१ टिमका १ सय ७५ खेलाडीको सहभागिता रहेको नेपाल बक्सिङ महासंघका महासचिव मानबहादुर भण्डारीले जनाएका छन् । पुरुषमा १३ र महिलामा १० गरी २३ स्पर्धामा खेल भइरहेको छ । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ४० हजार, २० हजार र १० हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिता असार २१ गते सम्पन्न हुनेछ ।

प्रतिक्रिया दिनुहोस्