वन्यजन्तुका लागि सामुदायिक वनमा पोखरी निर्माण



बाँके । वन्यजन्तुका लागि बाँकेका सामुदायिक वनमा पोखरी निर्माण गरिएको छ ।  राप्तीसोनारी गाउँपालिका–८ ओभरीस्थित भगवती सामुदायिक वनमा पाँच लाखको लागतमा पोखरी निर्माण गरिएको सामुदायिक वनका अध्यक्ष टीकाराम वलीले जानकारी दिए ।

उनले पोखरीमा शम्शेरबजारमा राखिएका खानेपानी ट्याङ्कीबाट एक हजार दुई सय मिटर पाइप बिच्छयाएर पानी ल्याएको बताए । यसबाट पोखरी नजिकै रहेको निकुञ्ज र सामुदायिक वनका वन्यजन्तु पानी खान सजिलो भएको छ । 

अध्यक्ष वलीका अनुसार पोखरी निर्माण पश्चात् चितुवा, चित्तल, जरायोलगायत विभिन्न प्रजातिका वन्यजन्तु वनमा देखिन थालेका छन् । सामुदायिक वनमा ‘सिसी क्यामेरा’ जडान गरिएको छ । क्यामेरामा १९ प्रजातिका चरा र वन्यजन्तु देखिएको उनले बताए ।

डिभिजन वन कार्यालय बाँके शम्शेरगञ्ज सबडिभिजन वन कार्यालयका प्रमुख सुशील सुवेदील पोखरी निर्माण आर्थिक सहयोग गरेको जानकारी दिए । पोखरीको गहिराइ पाँच फिट, लम्बाइ सय मिटर र चौडाइ ५० मिटर रहेको छ । वन्यजन्तुलाई पानी पिउन पोखरीमा झर्न सजिलो होस् भन्नका लागि प्राकृतिक लयमा पोखरी निर्माण गरिएको उनले बताए। 

प्रतिक्रिया दिनुहोस्