ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ सार्वजनिक



पोखरा । कवि शिबु ढकालको कविता सङ्ग्रह ‘हिउँका गुच्छाहरू’ शनिवार पोखरामा लोकार्पण गरिएको छ । गीतकार प्रतिष्ठान, नेपालद्वारा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले कृतिको लोकार्पण गरे ।

सरुभक्तले शिबु ढकालका कविताले दर्शन बोकेका धारणा राखे । उनले कविले आफू जस्तो परिवेशमा हुर्कियो त्यस्तै भाव कवितामा प्रस्तुत गर्ने धारणा राखे । समालोचकहरूले आफ्ना दृष्टिकोण जसरी राखे पनि लेखनमा निरन्तर लाग्नुपर्नेमा उनको जोड थियो ।

कृतिको समीक्षा गर्दै डा. बाबुराम अधिकारीले शिबुका कवितामा नेपाली समाजको सग्लो चित्र उतारिएको विचार राखे । उनले कवितामा आएका चिन्तन परिपक्व रहेको भन्दै ढकालको लेखनले केही मात्रामा बौद्धिक पाठकको अपेक्षा गर्ने टिप्पणी गरे ।
कवि शिबु ढकालले आफूले जीवनमा देखेभोगेका कुरालाई कवितामा उतारेको धारणा राखे । ढकालको यसअघि ‘क्वेस्ट फर भर्जिनिटी’ नामक अङ्ग्रेजी उपन्यास प्रकाशित छ ।

गीतकार प्रतिष्ठानका उपाध्यक्ष अनुराग अधिकारीको अध्यक्षता तथा सचिव रुपिन्द्र प्रभावीको सञ्चालनमा भएको कार्यक्रममा मिलन तिमिल्सिनाले स्रष्टा परिचय र शिवलाल उपाध्यायले शुभकामना मन्तव्य दिएका थिए । जम्मा ६१ ओटा कविता सङ्गृहीत कृतिको प्रकाशन पेज टर्नर प्रा. लि. ले गरेका हो ।

प्रतिक्रिया दिनुहोस्